FLASH NEWS

ललिता निवास प्रकरण : तीन जना आरोपितले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको रिट


नेपाल आवाज १४ असार २०८०, बिहीबार १६:१२ मा प्रकाशित १५०१ पाठक संख्या

काठमाडौं – ललिता निवासको जग्गा अनियमितता प्रकरणमा पक्राउ परेका तीन जना आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गराएका छन् ।


आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित धर्मप्रसाद गौतम, मिनबहादुर गुरुङ र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् । उनीहरु तीनै जनाले आफूहरुलाई विनाशर्त रिहा हुनुपर्ने माग राखेका छन् ।

राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानूनी रुपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानूनी उपचारका लागि ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरिन्छ ।

हदम्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरुको जिकिर छ । उनीहरु तीनैजनाको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

ललिता निवास जग्गा अनियमिततामा मुछिएकाहरुमध्ये १७ जनाले १५ महिनाअघि नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश (स्टे अर्डर)लिएर बसेका थिए । जसमध्येका ३ जना सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी पक्राउ परेकै दिन गत मंगलबार रिहा भएका हुन् । त्यही बाटो समाउन अरु आरोपितहरु पनि बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् ।