FLASH NEWS

भोकमरी र गरिबी कायमै भए विकास र मानवअधिकारका गफ दिनु कुनै सार्थकता हुँदैन : केपी ओली


नेपाल आवाज १४ असार २०८०, बिहीबार १७:४३ मा प्रकाशित १५०७ पाठक संख्या

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने बताएका छन् ।


बिहीवार मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा ‘जबजका आयाम र विशेषता’ विषयक विचारगोष्ठी एवम् पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आफू विगतमा प्रधानमन्त्री हुँदा खान नपाएर र उपचार नपाएर कोही मर्नु नपरोस् भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प अघि सारेको स्पष्ट पारे ।

कार्यक्रम जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) कै अनुशरणमा उक्त राष्ट्रिय सङ्कल्प आएको उल्लेख गर्दै अध्यक्ष ओलीले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको बताए ।

‘नेपालको संविधानको प्रस्तावनामा हामीले जबजकै सचेत प्रयासमा समाजवादोन्मुख शब्दावली राखका हौँ । हामी जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र वा सीमित व्यक्ति धनी हुने पुँजीवादी व्यवस्थाका पक्षमा छैनौँ । समानता र सामाजिक न्यायसहितको पूर्ण लोकतन्त्रका पक्षमा छौँ,’ अध्यक्ष ओलीले भने, ‘कहिलेकाँही मोर्चामा हार खान सकिन्छ तर आन्दोलनले हार्दैन र हामी अविचलितरुपमा समाजको रुपान्तणका लागि लागिरहनुपर्छ । जबजको मार्गदर्शन पनि यही हो ।’

अध्यक्ष ओलीले अहिले विचार बिनाका पार्टीहरुको लहर चलेको पनि बताए । राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भएपनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको उनको भनाइ थियो ।

राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताउदै आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको उनको गुनासो थियो ।

‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ । विचार नचाहिने, बिना विचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ । योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र ? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन् । तर हामी बिना इतिहास समाज यहाँ आएको छैन । धेरै उत्तारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो । आज पनि समाज अनेकप्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ । यस रस्साकस्सीको बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ ।’ अध्यक्ष ओलीले भने।

नेपाल ज्ञानभूमि र तपोभूमि भएको उल्लेख गर्दै अध्यक्ष ओलीले पुर्खाहरुको त्यो ज्ञान र योगदानको जगमा यस उर्बर र जीवनमय भूमि नेपाललाई समृद्ध बनाउन राजनीतिक दल र जनता लाग्नुपर्नेमा जोड दिदै मौलिकता बिनाको आन्दोलनहरु सफल हुन नसक्ने बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी कार्यक्रममा फाउण्डेशनद्वारा स्थापित विभिन्न पुरस्कार प्रदान गरिनुका साथै विशेष जर्नलको लोकार्पण गरिएको थियो ।