FLASH NEWS

नारायणगढ-मुग्लिन सडकः आज दिनभर पहिरो पन्छाएर सडक सूचारु गर्न सक्ने अवस्था छैन


नेपाल आवाज १५ असार २०८०, शुक्रबार ०९:४१ मा प्रकाशित २७४३ पाठक संख्या

मुग्लिन – सुख्खा पहिरोका कारण बिहिबार दिउँसोदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने काम सुरु भएको छ ।


इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर बिहिबार दिउसो १ः२० बजेदेखि सडक बन्द भएको थियो । त्यसपछि पटक–पटक सुख्खा पहिरो खसेको छ ।

आज बिहान ७ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए ।

उनले पहिरो झरेर पहाड बनेको भन्दै पहिरो पन्छाउन सुरु गरेपछि पनि पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन नभएको बताए ।

तामाङका अनुसार ठाडो भिर भएकाले माथिबाट कहिले सानो त कहिले ठूलो पहिरो झरिरहेको बताए । पहिरो खस्ने क्रम नरोकिए आज दिनभर पनि पहिरो पन्छाएर सडक सूचारु गर्न सक्ने अवस्था नरहने उनले बताए।

पहिरो झर्ने क्रम नरोकिएपछि बिहिबार राती पनि पहिरो पन्छाउने काम हुन सकेको थिएन् । पहिरो पन्छाउनका लागि दुवैतर्फ एक्साभेटर प्रयोग गरिएको छ ।

१९ घण्टादेखि सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ । यात्रुहरुको विचल्ली भएको छ । सयौँ यात्रु समस्यामा परेका छन् ।

काठमाडौंबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज यात्रा गर्ने यात्रुहरुलाई बैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

पोखरातर्फको क्षेत्रमा जाने सवारी साधनलाई निर्वाध चल्न दिन अधिकतम प्रयास गरिएको प्रहरीको भनाइ छ ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र अवरुद्ध हुने गरेको छ। तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडकखण्ड हुँदै दैनिक १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् ।