FLASH NEWS

काेशी प्रदेश : एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढल्यो


नेपाल आवाज १५ असार २०८०, शुक्रबार १४:०२ मा प्रकाशित ९६१ पाठक संख्या

विराटनगर –  कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ ।  सरकारमा सहभागी दल माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछि शुक्रबार मुख्यमन्त्रीकोे विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो ।


९३ सदस्यीय प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको सभामुख बाबुराम गौतमले घोषणा गरे । मतदानमा ८९ जना सांसद सहभागी थिए । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् ।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् ।

कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेका ४० र राप्रपाको ६ सांसदलेमात्रै समर्थन गरेका छन् ।

कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ मा मुख्यमन्त्री निर्वाचित भएका थिए । कार्की नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत नपाएसँगै अब नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नेछन् ।

एमाले र राप्रपा प्रतिपक्षमा बसेको अवस्थामा अरू सबै मिल्दा पनि सरकार गठन हुन कठिन छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ।

एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद हुन्छन्। माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएका कारण हाल प्रतिपक्षमा रहेका सबै मिल्दा पनि ४६ सांसद मात्रै पुग्ने हुँदा अब बन्ने नयाँ सरकारले पनि विश्वासको मत पाउन कठिन देखिन्छ।