FLASH NEWS

बालुवाटारस्थित ललिता निवासको जग्‍गामा तारबार लगाउने बालेनको निर्णय


नेपाल आवाज १७ असार २०८०, आईतवार १४:५८ मा प्रकाशित १४१७ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा तारबार लगाउने निर्णय गरेका छन् ।


बहुचर्चित जग्गा घोटला काण्डको रुपमा परिचित सरकारको स्वामित्वको बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर विभिन्न व्यक्तिका नाममा नामसारी भएको बेला बालेनले तारबार लगाउने बोल्ड निर्णय गरेका हुन् ।

शाहले जग्गा संरक्षण गर्न नगरप्रहरीलाई निर्देशन दिएका छन् । मेयर शाहको निर्देशनपछि आइतबार दिउँसो नगरप्रहरीले खाली जग्गामा तारबार लगाएर राख्ने तयारी गरेको छ ।

बालुवाटारस्थित ललिता निवासको खाली जग्गामा तारबार लगाउने, बनिरहेका घर तथा भौतिक संरचना निर्माणको काम रोक्न लागेको काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

‘हामी ललिता निवासको जग्गा संरक्षण गर्न जाँदैछौँ । खाली छ भने तारबार लगाउँछौँ । घरहरु निर्माणाधीन छ भने रोक्न लगाउने निर्देशन प्राप्त भएको छ । अरू थप निर्णय जे आउँछ हामी सोही अनुसार काम गर्दै जानेछौँ ।’ पाण्डेले भने ।

ललिता निवासको जग्गा प्रकरणमा नेताहरू, कर्मचारी, व्यापारी र बिचौलिया मिलेर अपराध गरेको देखिन्छ । नेता, उच्च पदस्थ कर्मचारी र भूमाफियाको मिलेमतोमा चारपटक गरेर बालुवाटारको १४३ रोपनी जग्गा व्यक्तिका नाममा लगिएको थियो।

ललिता निवासको २९९ रोपनी सरकारी जग्गा २०४९ कात्तिकदेखि व्यक्तिका नाममा बनाउने प्रपञ्च सुरु भएको थियो। यसबारे २०५८ सालदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी पर्न थालेको हो। यस विषयमा अनुसन्धान गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७५ जेठ १४ गते शारदाप्रसाद त्रितालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनायो।

समितिमा महेन्द्रकुमार थापा सदस्य र गणेश आचार्य सदस्य सचिव थिए। समितिले २०७६ मंसिर २८ गते सरकारलाई प्रतिवेदन बुझायो। त्यसको तीन महिनापछि मन्त्रिपरिषद् बैठकले २०७५ फागुन २८ गते प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गर्‍यो। सो मन्त्रिपरिषद्ले व्यक्तिका नाममा बनाइएको सरकारी जग्गा सरकारको स्वामित्वमा फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा ६ महिनाभित्र ल्याउन भूमि व्यवस्था मन्त्रालयलाई निर्देशनसमेत दियो।

१९८६ सालदेखि १९८९ सालसम्म प्रधानमन्त्री बनेका भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण भयो। मालपोत कार्यालयको अभिलेखअनुसार उक्त जग्गा भीमशमशेरले १९८८ सालमा खरिद गरेका थिए।

ललिता निवास भीम शमशेरले छोरा हिरण्य शमशेरलाई अंशमा दिए। पछि हिरण्य शमशेरबाट उनका छोरा सुवर्ण शमशेरमा हस्तान्तरण भयो। सुवर्ण शमशेरले २०१७ असार २९ गते पत्नी श्वेतप्रभाका नाममा ५८ रोपनी तथा तीन छोरा कनक, कञ्चन र रुक्म शमशेरलाई ५७ रोपनीका दरले ‘हालैको बकसपत्र’ गरिदिए। बाँकी ६१ रोपनी ११ आना जग्गा आफ्नै नाममा राखे। यही जग्गालाई व्यक्तिले आफ्नो नाममा लगेपछि सरकारले फिर्ता ल्याउने कोसिस गरिरहेको छ।