FLASH NEWS

ललिता निवास भित्रका अस्थायी संरचना हटाउन महानगरले दियो २४ घन्टे अल्टिमेटम


नेपाल आवाज १७ असार २०८०, आईतवार १७:०६ मा प्रकाशित २१८५ पाठक संख्या

काठमाडौं – बहुचर्चित जग्गा घोटला काण्डको रुपमा परिचित सरकारको स्वामित्वको बालुवाटारस्थित ललिता निवास भित्रका अस्थायी संरचना हटाउन काठमाडौं महानगरपालिकाले अल्टिमेटम दिएको छ।


ललिता निवासभित्र भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिइएको मेयर बालेन्द्र शाह (बालेन)का प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए।

‘आज महानगर प्रहरीको टोली त्यहाँ गएको थियो। त्यहाँ भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिइएको छ’, उनले भने।

आइतबार दिउँसो ललिता निवासको जग्गामा घेराबार गर्न महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली पुगेको थियो।

सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ। महानगर प्रहरीको टोलीले अहिले घेराबारको काम गरिरहेको छ।

ललिता निवासको जग्गा प्रकरणमा नेताहरू, कर्मचारी, व्यापारी र बिचौलिया मिलेर अपराध गरेको देखिन्छ । नेता, उच्च पदस्थ कर्मचारी र भूमाफियाको मिलेमतोमा चारपटक गरेर बालुवाटारको १४३ रोपनी जग्गा व्यक्तिका नाममा लगिएको थियो।

केही दिनअघि  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की अहिले प्रहरी हिरासतमा छन्।

ब्युरोले अनुसन्धान गरिरहेको बेलामा महानगरले जग्गा संरक्षण गर्ने भन्दै घेराबार लगाउन लागेको हो।

ललिता निवासभित्र नर्सरी, काठका सामानहरू, अस्थायी टहरा लगायत संरचनाहरू छन्।