FLASH NEWS

कोशी प्रदेशमा पाँच दिनभित्र नयाँ सरकार गठन गरिसक्नुपर्ने


नेपाल आवाज १७ असार २०८०, आईतवार २३:१६ मा प्रकाशित १४६५ पाठक संख्या

विराटनगर –  कोशी प्रदेशमा आउँदो पाँच दिनभित्र नयाँ सरकार गठन गरिसक्नुपर्ने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेसँगै पाँच दिनभित्र सरकार गठन गरिसक्नुपर्ने दबाब पाँचदलीय गठबन्धनलाई परेको छ ।


प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आज आह्वान गरेका हुन् ।

अब दलहरुले यही असार २१ गतेसम्ममा प्रदेश सभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्ने छ ।

शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । उनी पदमुक्त भएसँगै नयाँ सरकार गठनको आह्वान गरिएको हो ।

कोशी प्रदेशमा एक सीट भए पनि सरकार निर्माणमा निर्णायक बनेको जसपाले तटस्थ बस्ने निर्णयले दुवै पक्ष अन्योलनमा परेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन वा टिकाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

जस अनुसार एमालेसँग ४० र राप्रपासँग ६ जना गरी ४६ जना सांसद छन् भने उता कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग पनि ४६ जना नै छन् । यस्तो अवस्थामा सरकार गठनमा सकस देखिएको छ ।