FLASH NEWS

गणतन्त्रको पहिलो राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाई प्रस्ताव नगरेर गल्ती गरेँ: प्रचण्ड


नेपाल आवाज १८ असार २०८०, सोमबार १०:४४ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् ।


सोमबार स्व. कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले आफूले गल्ती गरेको स्वीकारे ।

‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो’, प्रचण्डको भनाइ छ । प्रचण्डले कोइरालामा राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको पनि बताए ।

उनले पहिलो पटक भेटदेखि अन्तिम भेट हुँदासम्म कुनै द्विधा, अविश्वास, आशङ्का या आशङ्का नदेखेको भन्दै बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताए । ‘बरु मैले गल्ती गरेँ, उहाँले विल्कुल गल्ती गर्नुभएन’, प्रचण्डले शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले भने, ‘मैले बरु उहाँसँग लिएका प्रतिबद्धता सबै जस्ताको तस्तै मैले पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’ उनले कोइरालाको चाहानाविपरीत कतिपय निर्णय गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै गणतन्त्र कोइराला नभएको भए आउन नसक्ने पनि बताए ।

‘गिरिजाप्रसाद कोइरालाको परिपक्व राजनीति, सुझबुझ, या दुर्दृष्टि । र, अस्पतालमा जतिवेला उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो मलाई एक्लै बोलाएर सम्हाल्नुस् देश भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति अगाध आस्था र विश्वास भइराख्यो, भइराख्छ’, प्रचण्डले भने, ‘शान्तिको रक्षा गर्ने कुरा, संविधानको रक्षा गर्ने कुरा र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो ।’

उनले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै  हिजोकै केन्द्रीकृत राजतन्त्र ठिक हो कि भनेर प्रश्न उठाउने जमर्को भइरहेको बताए । ‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँ जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ । हामीले व्यवस्था बदल्न साहस गर्‍यौ, जनताको अवस्था बदल्न सकेनौ त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ’, प्रचण्डले जनताको अवस्था बदल्न शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका विषयमा सोही दृष्टिका आधारमा काम गर्नुपर्ने बताए ।