FLASH NEWS

हामीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको छ : ओली


नेपाल आवाज १८ असार २०८०, सोमबार १९:५८ मा प्रकाशित १५४३ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन्।


‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाई छ।

सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए।

ओलीले आफू सरकारमा नभएपनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे।

उनले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहोर्‍याए।

ओलीले देश र जनताको सेवा गरेबापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबै भन्दा ठूलो प्राप्ती हुने गरेको बताए।

उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दूर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भएपनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको जिकिर गरे।

ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताए। त्यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए।