FLASH NEWS

नेपालका लागि हिन्दु राष्ट्र अनिवार्य आवश्यकता हो : कमल थापा


नेपाल आवाज १८ असार २०८०, सोमबार २१:४७ मा प्रकाशित १७१७ पाठक संख्या

काठमाडौं  राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल जस्तो भूराजनितिक अवस्था एवम् सामाजिक सांस्कृतिक परिवेशमा हिन्दु राष्ट्र अनिवार्य आवश्यकता भएको बताएका छन् ।


आज पार्टीको अनुसन्धान तथा योजना विभागद्वारा काठमाडौंमा आयोजित ‘हिन्दु राष्ट्र : अवधारणा र औचित्य’ विषयक अन्तक्रिरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दु राष्ट्रको अवधारणालाई सही अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको बताएका हुन् ।

अज्ञानतामा आधारित ‘प्रोपोगान्डा’ तथा बाह्य शक्ति र उग्रवामपन्थीको षडयन्त्रबाट मुक्त हुन जरुरी भएको भन्दै थापाले हिन्दु राष्ट्र नेपालको गौरव भएको बताए । हिन्दु धर्म प्राचीन र विविधतामा आधारित आध्यात्मिक मान्यता भएको भन्दै थापाले हिन्दुत्व सांस्कृतिक राष्ट्रबादको अभिव्यक्ति भएको टिप्पणी गरे ।

उनले धार्मिक राज्य नभई प्राचीन सभ्यता र सम्पदाको रक्षा आफूहरूको प्रमुख ध्यय भएको स्पष्ट गर्दै वैदिक दर्शन, सनातन धर्म, संस्कृति र परम्पराको धरातलमा राष्ट्र निर्माण हुनुपर्नेमा जोड दिए । २०६२/०६३ को आन्दोलनपछि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

उनले संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनले मुलुकमा ठूलो समस्या निम्तिने चेतावनी पनि दिएका छन् ।

थापाको कार्यपत्रमाथि प्राडा राजाराम सुबेदी, डा शास्त्रदत्त पन्त, वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्राडा गोपाल पोखरेल, वरिष्ठ अधिवक्ता बिष्णु भट्टराई, डा विष्णु भण्डारीलगायतले टिप्पणी गरेका थिए ।