FLASH NEWS

ललिता निवास प्रकरणः पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी


नेपाल आवाज २२ असार २०८०, शुक्रबार १०:४० मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौं –  बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।


प्रकरणमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्व सहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरू विरुद्ध यसअघि पनि पक्राउ पुर्जी भएको प्रहरीले जनाएको छ ।

पक्राउ पूर्जी जारी भएका तत्कालिन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा अदालतको आदेशबाट छुटेका छन् ।  बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले १ सय ४३ रोपनीभन्दा बढी जग्गा हिनामिना प्रकरणमा किर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान गरिरहेको छ ।

जग्गा हडप्ने निर्णय प्रधानमन्त्री, मन्त्री, सचिव, सहसचिवदेखि मालपोत, नापी र गुठीका कर्मचारीसम्मको सेटिङमा भएको अनुसन्धानले देखाएको छ ।