FLASH NEWS

एलओडीका अर्का सञ्चालक रुदिलबल्लभ पनि पक्राउ


नेपाल आवाज २२ असार २०८०, शुक्रबार ११:४६ मा प्रकाशित ११६५ पाठक संख्या

काठमाडौं । फरार रहेका काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका अर्का सञ्चालक पनि पक्राउ परेका छन् ।


नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर फरार भएका सञ्चालक रुदिलबल्लभ श्रेष्ठलाई ललितपुर प्रहरी परिसरको टोलीले शुक्रबार बिहान कुपन्डोलबाट पक्राउ गरेको हो ।

ललितपुर प्रहरी परिसरले एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाललाई पनि बिहीबार अपरान्ह बालुवाटारबाट पक्राउ गरिसकेको छ ।

पक्राउ परेका दुवैजनालाई शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइँदैछ । उनीहरुलाई बालबालिकासम्बन्धी कानुन अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

उक्त क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका हुन् ।

नाइट क्लबमा नाबालिग प्रवेश गर्न मिल्दैन । तर ती नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न अनुमति लिएको थियो ।

जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप छ । घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन् ।