FLASH NEWS

लिङ्देनको चेतावनीः ‘राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सात दिनमात्रै सडकमा निस्कियौं भने घुँडा टेकाइदिन्छौं’


नेपाल आवाज २३ असार २०८०, शनिबार १५:०३ मा प्रकाशित १३५७ पाठक संख्या

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मुद्दा लिएर सात दिनमात्रै सडकमा निस्किएको खण्डमा गणतन्त्रवादीहरुले घुडा टेक्ने बताएका छन् ।


आज (शनिबार) काठमाडौंमा राप्रपा सम्पर्क समाजको कार्यविधि घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रत्येक जिल्लाबाट काठमाडौं उपत्यकाभित्र आई विभिन्न पेशा व्यवसाय गरिबसेका एक–एक हजार मान्छेलाई सम्पर्क समाजमा जोड्न सकेको खण्डमा संघीयता नै खारेज गराउन सकिने बताए ।

‘हामीले सरदरमा एक–एक हजार प्रतिवद्ध मान्छेहरुको सूची जोड्न सक्यौं भने ७४ हजार भयो कि भएन ? ७४ हजार मान्छे जो यही बस्छ, यही खान्छ । विभिन्न पेशा व्यवसायमा छ । ती मानिसहरुले एक हप्ता आफ्नो पेशा व्यवसाय बन्द गरेर राजसंस्था, हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने र संघीयता खारेज गर्ने मुद्दा लिएर सडकमा निस्किए भने, देश बचाउने भनेर सात दिनमात्रै निस्कियो भने यिनीहरुले घुडा टेक्नु पर्छ कि पर्दैन ? त्यस कारण यो सम्पर्क समाजको जिम्मेवारी ठूलो छ,’– उनले भने ।