FLASH NEWS

संसद् अवरोध हटाउने विषयमा शीर्ष नेता बीचको छलफल सकारात्मक


नेपाल आवाज २५ असार २०८०, सोमबार १४:५१ मा प्रकाशित ११०५ पाठक संख्या

काठमाडौं – संघीय संसद्को अवरोध हटाउने विषयमा तीन नेताबीच भएको छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो ।


प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ।

प्रचण्डले आइतबार आफू सम्बोधन गर्ने र त्यो सम्बोधन सुनेर संसद खुलाउन प्रतिपक्षी दलका अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। तर, पछि एमाले आफ्नो सहमतिबाट पछि हट्दै नयाँ सर्त अघि सारेको थियो।

आजको छलफलमा पनि यस्ता विषयमा विवाद नगरी संसद खुलाउन प्रतिपक्षीलाई प्रधानमन्त्रीले आग्रह गरेका छन्। छलफल सकारात्मक भएको प्रधानमन्त्री निकट स्रोतले बताए।

‘यहाँबाट सहमति भएर नेताहरू उठ्नुभयो। हिजोकै स्पिरिटमा पीएमले बोल्ने प्रतिपक्षीले खोल्ने भन्ने सहमति भएको छ,’ सोतले भन्यो, ‘अहिलेसम्मको घटनाक्रमकाबारे समीक्षा पनि भयो। यस्ता कुरा लिएर आरोप प्रत्यारोप नगरौं, संसद खोलेर जाऔं। भनेर उहाँहरु उठ्नुभयो।’

यता एमाले अध्यक्ष ओलीले भने पार्लियामेन्टमा थाहा हुने भन्दै बैठकबाट बाहिरिएका थिए।