FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : अडियोबारे आरजुले भनिन्- ‘मविरुद्ध षड्यन्त्र भयो’


नेपाल आवाज २५ असार २०८०, सोमबार १८:३४ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक भएको अडियोबारे कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सदस्य आरजु राणाले आपत्ति जनाउँदै आफूविरुद्ध षड्यन्त्र गरिएको बताएकी छन् ।


साथै अभियुक्तले बयानको क्रममा गलत भनेको अडियो प्रहरीले सार्वजनिक किन गरेको भन्दै उनले प्रतिप्रश्न गरेकी थिइन् । अडियोमा आफू संलग्न रहेको कुनै प्रमाण नहुने भन्दै उनले उक्त अडियो सार्वजनिक गर्नुको पछाडि षड्यन्त्र भएको दाबी गरेकी छन् ।

सोमबार संसद्‍ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

‘प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आयो ? अभियुक्तको बयानमै यो अडियो गलत भन्ने सावित भइसकेको छ । गलत भन्ने थाहा पाउँदा पाउँदै प्रहरीबाट कसरी बाहिर आयो ? यसमा तथ्य नै छैन भन्ने थाहा हुँदाहुँदै बाहिर कसरी ल्याइयो । यो मेरोविरुद्ध षड्यन्त्र भएको हो,’ राणाले भनिन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई रकम बुझाएको भन्ने ब्यहोराको अडियो परीक्षण गर्दा उक्त अडियो अभियुक्त दाङका सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएपछि आरजुमाथि पनि अनुसन्धान गर्नुपर्ने माग उठ्न थालेको छ । अडियोमा अभियुक्त शर्माले राणालाई पैसा बुझाएको भनेका थिए ।

यो पनि पढ्नुहोस् :  आरजु र मञ्जुलाई पनि पक्राउ गरिनुपर्ने आवाज उठ्न थाल्यो

नक्कली भुटानी शरणार्थी प्रकरण: आरजुलाई पैसा दिएको भन्ने अडियो सन्देश शर्माको भएको पुष्टि