FLASH NEWS

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनाग्रस्त अवस्थामा फेला


नेपाल आवाज २६ असार २०८०, मंगलवार १२:५६ मा प्रकाशित १३५१ पाठक संख्या

काठमाडौं – मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।


सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

लिखुपिकेका उपाध्यक्ष ङवाङ ल्याहाक्पा शेर्पाका अनुसार हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको उनले बताए । हेलिकप्टर र दुर्घटनास्थल हेर्दा हेलिकप्टरमा सवार यात्रुको जीवित उद्धारको सम्भावना कम रहेको उनको भनाइ छ ।

प्रहरी पनि अहिले दुर्घटनास्थलमा पुगेको र अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण भएको उपाध्यक्ष शेर्पाले बताए ।

हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु रहेका थिए । पाइलट मात्र नेपाली र बाँकी सबै मेक्सिकन नागरिक भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले बताए ।