FLASH NEWS

एमालेले अहिले सरकारमा जाने कुनै पनि मनसाय राखेको छैन: ओली


नेपाल आवाज २६ असार २०८०, मंगलवार १६:०४ मा प्रकाशित १३६३ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन्।


काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भईरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टाएका हुन्।

मंगलबार पार्टी केन्दिय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा बोल्दै उनले आफ्नो पार्टी सरकार बनाउने, जोखाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताए । ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको दोहोर्‍याए ।

उनले सरकार र सत्तारुढ दलहरुले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए । अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भईसकेको मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताए ।

ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको बताए । सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने उनको भनाइ छ ।

यो तमासा सरकारले जे गरिरहेको छ, जनतालाई भ्रम दिएर वाइवाइ गर्ने षड्यन्त्रमात्रै हो यसबाट केही हुनेवाला छैन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘जहाँ ताक्न खोजेको त्यहाँ लाग्नेवाला नै छैन । यिनीहरुले के गर्छन् अन्त ?’

उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भनेपनि भित्तामा हानेको भकुण्डो आफैंतिर फर्केर आफैंलाई लाग्ने पनि बताए । ‘यिनीहरुले भकुण्डो भित्तामा हान्छन् भित्ताबाट भकुण्डो फर्केर आफ्नै टाउकामा लाग्छ । अर्कोलाई हान्न खोज्छन् तर आफ्नै टाउकामा लाग्छ’, ओलीले भने, ‘त्यसो भएपछि यिनीहरुले केही गर्ने होइनन् यो सबै स्टन्ट हो ।’

उनले अविश्वसनीय र भ्रष्टहरु नै अहिले आफूलाई बडो विश्वसनीय तत्वजस्तो देखाउन खोजेको पनि बताए । ‘जो अविश्वशनीय छन्, भ्रष्ट तत्वहरुले भ्रष्टाचारविरोधी अभिनय गरिरहेका छन् । राष्ट्रिय राजनीति फिल्म हेरेको जस्तो भइरहेको छ’, ओलीले भने, ‘नेकपा एमालेले अभिनयभन्दा यथार्थ राजनीति गर्नुपर्छ ।’ अध्यक्ष ओलीले सरकार बनेको सात महिना हुँदा समेत ओर्तिरको सिन्को पर्तिर नसारेको तर ढाट्नमात्र लागेको बताए ।

ओलीले सरकारको तागत नै झुट बोल्नु रहेको र आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए । पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।