FLASH NEWS

कोसी सरकारविरुद्धको रिट लगातार तेस्रो दिन ‘हेर्न नभ्याइने’मा


नेपाल आवाज २६ असार २०८०, मंगलवार १६:३८ मा प्रकाशित १३०९ पाठक संख्या

काठमाडौं – कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट लगातार तेस्रो दिन ‘हेर्न नभ्याइने’सूचीमा राखिएको छ। आज रिटको पेशी न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको थियो।


यसअघि आइतबार र सोमबार सो मुद्दाको सुनवाइका लागि पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’सूचिमा राखिएको थियो। आइतबार  न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासमा  र सोमबार सुष्मालता माथेको एकल इजलासमा पेशी तोकिएको थियो।

कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले गत शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएको थियो।  एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले रिट दिएका हुन् । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमालेले सर्वोच्चमा रिट दिएको हो। रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा,सभामुख गौतमलाई  प्रतिवादी बनाइएको छ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका २९,नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ जना प्रदेशसभा सदस्य तथा सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।