FLASH NEWS

पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती


नेपाल आवाज २७ असार २०८०, बुधबार १५:४१ मा प्रकाशित १९०९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।


दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिए ।

 

सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको छ।

उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तक,कूटनीतिक नियोगका अधिकारी, सुरक्षा प्रमुखहरु लगायतले श्रद्धाञ्जली दिएका थिए ।

यस्तै आर्यघाटमा पुगेर एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली,पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, भूमि व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ, सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल,कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेसाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायत लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओडाएका थिए ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन्। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो। दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत थिइन्।