काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीमा काम नगरी नेता हुन नपाइने व्यवस्थासहितको नवीन राप्रपा–२०८० को कार्ययोजना सार्वजनिक गरेको छ ।
आज बिहीबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले राप्रपा: अब नवीन राप्रपा कार्ययोजनाअन्तर्गत नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति मूल नारा सहित जनताको घरदैलोमा राप्रपा अभियान समेत सुरू गरेको जनाएको हो ।
अभियानअन्तर्गत राप्रपाले पार्टीका केन्द्रीय नेतालाई स्थानीय तहको भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरेको छ भने तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वत: पदीय जिम्मेवारीबाट मुक्त हुने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
राप्रपाले केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९०० जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरेको छ ।
एकैसाथ ७५३ वटै स्थानीय तह र ६ हजार ७४३ वटै वडा तथा प्रवासमा समेत जिम्मेवारी तोकेको राप्रपाले जिम्मेवारी प्राप्त नेताहरूले तोकिएको भूगोलमा ६ महिनासम्म संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्ने नियम बनाएको छ ।
जस अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको जिम्मेवारी धरान उपमहानगरपालिकामा परेको छ । भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेश गर्नुपर्ने पनि राप्रपाले बताएको छ ।
पार्टीले आगामी दिनमा विभिन्न तहमा हुने निर्वाचनमा ५० प्रतिशत प्राइमरी छनौटमा उम्मेदवार तय गर्ने पनि बताए । त्यस्तै, पार्टीले विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्नका साथै आर्थिक सहयोग गर्न पनि सकिने अध्यक्ष लिङ्देनको भनाइ छ ।
राप्रपाले ६ महिनाभित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने जनाएको छ । प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि जनजिविकाका सवाल तथा राजनीतिक मन्यता स्थापनाका लागि जनदवाव श्रृजनाका क्रियाकलाप अघि बढाउने राप्रपाले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक २०८० जेष्ठ १,२,३मा संसोधन सहित पारित राजनीतिक कार्यपत्र अनुसार विभिन्न समयमा बसेको कार्य सम्पादन समिति तथा पदाधिकारीहरूको बैठकले तयार गरेको “राप्रपा:अब नवीन राप्रपा कार्ययोजना २०८०”अन्तर्गत जनताका घरदैलोमा राप्रपाका केही मूलभूत बुँदाहरू सार्वजनिक गर्ने कार्यक्रममा तपाईँ सञ्चारकर्मी साथीहरुलाई हार्दिक स्वागत गर्दछु।
-६ महिनाभित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरिनेछ।
-पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा -कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराईनेछ।
-पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेद्वार बनाउँदा ५०% प्राइमरी छनौट प्रक्रिया अपनाइनेछ।
-केन्द्र,प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९००जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएको छ।
-एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ।
यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्नेछ।
-यस अन्तर्गत राजसंस्था,हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुरयाउने।
-भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने
-पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने।
-स्थानीय पार्टी कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालन गरिनेछ।
-यसरी भूगोल केन्द्रीत विशेष जिम्मेवारी अन्तर्गत अध्यक्ष राजेन्द्र लिङदेन धरान उपमहानगर पालिका,उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की,हेमजंग गुरुङ,मुकुन्दश्याम गिरी,उद्धव पौडेल क्रमश….
-तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदिए जिम्मेवारीबाट मुक्त हुनेछन्।
-भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेश गर्नुपर्ने।
-राप्रपामा अब काम नगरि नेता हुन नपाईने ब्यवस्था मिलाईएको छ।
-भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि -सातवटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाईएकोछ।
-अबबाट विधुतीय माध्यमबाटै साधारण,सक्रीय सदस्य बन्न साथै आर्थिक सहयोग पनि गर्न सकिनेछ।
-एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्याईनेछ।
-६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ।
-सरकारी वेतनधारीहरूको भातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गरिनेछ।
-विधार्थी संगठनलाई राजनीतिक कम शैक्षिक बढि क्रियाकलापमा संलग्न गराईनेछ। मूलतःविश्वविद्यालयमा गैरराजनीतिक संगठनका रूपमा क्रियाशील रहनेछ।
-जिम्मेवारीमा रहेका सबैका लागि १बाट ३ सदस्यता अभियान सञ्चालन गर्ने।
-माथिका सबै क्रियाकलाप ६ महिना पछिपनि निरन्तर रहनेछ।
-६ महिनापछि भूगोलको जिम्मेवारी भने हेरफेर हुनेछ।
-माथिको ६ महिने क्रियाकलाप सम्पन्न भएपछि जनजिविकाका सवाल तथा मान्यता स्थापना उद्देश्यका लागि जनदवाव सिर्जनाका लागि क्रियाकलापहरू अगाडि बढाइनेछ।