FLASH NEWS

भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिन्छन् : राजेन्द्र लिङ्देन


नेपाल आवाज ३० असार २०८०, शनिबार १३:१३ मा प्रकाशित १३४५ पाठक संख्या

झापा – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको बताएका छन् ।


पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्ट एकैस्थानमा उभिने प्रमाणित भएको दाबी गरेका हुन् ।

भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा राप्रपाका मानिस नमुछिएको भन्दै उनले ठुलाठुला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिस्टका नेताहरूको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकैस्थानमा उभिएको आरोप लगाए ।

विदेशीका लागि कम्फर्टेबल सरकारको खोजीमा लाग्ने कांग्रेस र कम्युनिष्ट जनताका लागि कहिल्यै कम्फर्टेबल नभएको भन्दै उनीहरू राष्ट्रियताको विषयमा समेत प्रष्ट नभएको आरोप लगाएका छन् ।

कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातरात वक्तव्य जारी गर्न लगाउने, जबर्जस्ती कांग्रेस र कम्युनिष्ट पार्टीमा प्रवेश गराउने गरेको घटनाहरुको स्मरण गर्दै लिङ्देनले अहिले ति पार्टी प्रवेश गर्ने क्रम लगभग शुन्य रहेको र कांग्रेस कम्युनिस्ट सर्वाधिक रक्षात्मक बन्दै गएको दाबी समेत गरे ।

राप्रपाले नवीन सोच र दृष्टिकोणका साथ युवा, महिला केन्द्रीत नवीन राप्रपा सम्बन्धि कार्ययोजना ल्याएको र आगामी एक वर्षभित्र दुई लाख पार्टी सदस्य थप गर्ने लक्ष्य लिइएको बताएका छन् ।