FLASH NEWS

राष्ट्रिय भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त


नेपाल आवाज ३१ असार २०८०, आईतवार १३:१० मा प्रकाशित १५९७ पाठक संख्या

काठमाडौं – नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरिहजुरलाई कप्तानीबाट हटाईएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।


सोमबार सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगअन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका दौरान हरिहजुर दर्शकतर्फ आक्रोशित भएको र कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै उनलाई कारवाही गरिएको श्रेष्ठले बताए ।

सोमबार गण्डकी प्रदेशविरुद्ध आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले कारवाहीस्वरुप उनको पद खोसेको हो ।

‘उनमा राष्ट्रिय टोलीको कप्तानी गर्ने क्षमता देखिएन । त्यसैले उनीमाथि कारवाही स्वरुप पदमुक्त गर्ने निर्णय गरिएको हो’, महासचिव श्रेष्ठले भने ।

घटनाका बारेमा छानविन गर्न ५ सदस्यीय समिति गठन गरिएको थियो । समिति ले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा शनिबार बसेको संघको कार्यसम्पादन समितिको बैठकले कारवाही गरेको महासचिव श्रेष्ठले जानकारी दिए ।

छानविन समितिले आर्मीका खेलाडी, टोली, उजुरी दिने दर्शक लगायतको बयान लिएको थियो । सोमबार भएको खेलमा गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडीले असन्तुष्ट जनाएका थिए । त्यसैक्रममा आर्मीका खेलाडीलाई दर्शकले अपशब्द बोल्नुको साथै बोतल प्रहार गरेपछि खेलाडी संयमित हुन नसक्दा उक्त घटना घटेको थियो ।

संघले गत महिना मात्र हरिहजुरलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । हरिहजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिगमा खेलेको सबै ६ खेल गुमाएको थियो ।