आज: | Wed, 06, Dec, 2023
FLASH NEWS

साउने संक्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड


नेपाल आवाज १ श्रावण २०८०, सोमबार १०:१४ मा प्रकाशित ८५९ पाठक संख्या

काठमाडौं – साउने संक्रान्तिको अवसरमा आज पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। साउनको पहिलो सोमबारका दिन आज पशुपतिमा पूजा अर्चनाका लागि आएका भक्तजनहरूको घुइँचो लागेको हो।

मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन ।

पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। आज शिवको पूजा अर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाऊँ भनी सोमबार व्रत बस्ने चलन अझ बढी छ।

असार महिनामै चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत सुरु भएको छ। पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ।