FLASH NEWS

पोखरामा आयल निगमको १० हजार किलोलिटरको डिजेल भण्डार गृह सञ्चालनमा


नेपाल आवाज १ श्रावण २०८०, सोमबार २१:५० मा प्रकाशित १०८७ पाठक संख्या

पोखरामा नेपाल आयल निगमले १० हजार किलोलिटरको डिजेल भण्डारण गृह तयार गरेको छ ।


भण्डार गृहको सोमबार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरेका हुन् ।

निगमले ३ वर्ष अघि शुरु गरेको भण्डारण गृह निर्माणकार्य ८९ करोड लगानीमा सम्पन्न भएको हो ।

उक्त भण्डार गृहको २०७७ असार ३१ मा सम्झौता गरेको थियो । १ वर्षभित्र सक्ने गरी सम्झौता भएकोमा ६ महिना म्याद थप गरिएको थियो ।

पर्याप्त भण्डारण स्थल नहुँदा इन्धन आपूर्तिमा कठिनाइ भइरहेको अवस्थामा पोखरामा एक करोड लिटर क्षमताका इन्धन भण्डारण ट्यांक निर्माण गरिएको नेपाल आयल निगमले जनाएको छ ।

निर्माण सम्पन्न भएसँगै अब गण्डकी प्रदेशमा डिजेल भण्डारण क्षमता एक महिनालाई धान्न पुग्ने भएको छ । भण्डार गृहमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार भएका छन् भने सम्भावित आपतकालका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको छ । उक्त ट्याङ्कको निर्माण व्यवसायी समानान्तार-रेलिगियर-भारत ट्यांकस जोइन्ट भेन्चरले गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० गगनगौँडामा रहेको यस डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने निगमको विश्वास रहेको जनाएको छ ।

पोखराबाट गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ र स्याङ्जाका पम्पमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिन्छ । पोखरामा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक २८० किलोलिटर, पेट्रोल १२० किलोलिटर बिक्री हुन्छ । गण्डकी प्रदेशमा मात्र डिजेल र पेट्रोल पम्प ५८ वटा छन् ।

गण्डकी प्रदेशभर १ महिनाका लागि पुग्ने इन्धन भण्डार गर्न सकिने नेपाल आयल निगमको प्रादेशिक कार्यालय पोखराका परियोजना प्रमुख मनोज ठाकुरले बताए ।