FLASH NEWS

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई गर्ने छुट कसैलाई छैन : प्रधानमन्त्री


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार १८:०३ मा प्रकाशित १२६७ पाठक संख्या

बेनिघाट – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई गर्ने छुट कसैलाई नभएको बताएका छन् ।


गोरखाको गण्डकी गाउँपालिका-८ को सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रचण्डले अफिसको उद्घाटनपछि आयोजनाको निर्माण कार्यले थप गति लिनेमा विश्वास व्यक्त गरे ।

हर हालतमा आयोजना निर्माणको काम थालनी हुने जिकिर गरे । ‘कुनै पनि तर्क र बहानामा अब हामीलाई उम्कने छुट छैन । म सम्बन्धित निकायहरुलाई निर्देशन दिन चाहान्छु । आयोजना निर्माण कार्य अब कुनै हालतमा ढिलाई हुदैन’, उनले भने ।

जलाशययुक्त जलविद्युत आयोजना सिङ्गो देशको विकास र समृद्धिमा गुणात्मक योगदान गर्ने राष्ट्रिय गौरवको आयोजना देशको मध्य भागमा भएकोले यसले देशको आर्थिक गतिविधि बढाउने उनले बताए ।

‘सम्बन्धित सबैसँग सहकार्य गरि बुढीगण्डकी आयोजना निर्माण गर्ने संकल्प लिएर आएका छौं, प्रधानमन्त्री प्रचण्डले भने-‘यो आयोजनाले हिउद र बर्खामा हुने विद्युत संकटको अन्त्य गर्नेछ । सरकारको ध्यान देशभित्रै विद्युत खपत गराउने र देशको अर्थतन्त्रलाई मजबुत बनाउनेतिर छ ।’ प्राधिकरण बनाउने बिषयमा बृहत्तर छलफल गर्दै अहिलेलाई कम्पनी मार्फत निर्माण सुरु गर्न लागिएको उनले बताए । स्थानीय, प्रभावितहरु र सरोकारवालाहरुबाट रचनात्मक सहयोग रहने विश्वास व्यक्त गरे ।

फिल्ड कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय बनाएर लैजानुपर्नेमा जोड दिए । ‘विजुली, पानी, उद्योग, पर्यटनको विकाससंगै आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा अघि बढाउनुपर्छ’, भट्टराईले भने-‘यो आयोजनालाई जलाशययुक्त आयोजना र विजुली निकाल्ने आयोजनाको रुपमा मात्रै नहेरी प्राधिकरण बनाएर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा प्रभावित क्षेत्रका सांसद राजेन्द्र प्रसाद पाण्डे, रामनाथ अधिकारी, बुद्धिमान तामाङ, राजेन्द्र बजगाईलगायतले बुढीगण्डकी आयोजना निर्माणको काम तत्काल थालनी गर्न सरकारसंग आग्रह गरेका छन् ।