FLASH NEWS

सुन बरामद प्रकरण: हङकङबाट १६० वटा ब्रेक शुभित्र लुकाएर ल्याइएको थियो सुन


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार ००:२८ मा प्रकाशित १४४१ पाठक संख्या

काठमाडौं – त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको करिब एक सय केजी अर्थात एक क्विन्टल बराबर सुन हङकङबाट ल्याइएको खुलेको छ ।


क्याथे प्यासिफिक जहाजबाट उक्त सुन चारदिन अघि नै नेपाल आएको थियो । हिजो (मंगलबार) भन्सार पास भएको स्रोतले जानकारी दिएको छ ।

रेडी ट्रेड प्राइभेट लिमिटेड बूढानीलकण्ठको नाममा ल्याएको १६० वटा मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाइएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको बताइएको छ ।

‘जुलाइ १५ तारिखमा आएको रहेछ,’ स्रोतले भन्यो, ‘हिजो बाहिर निस्कियो । १६० वटा ब्रेक शुभित्र विशेष तरिकाले लुकाएर ल्याएको भन्ने छ । विशेष सूचनाका आधारमा आज बरामद गरिएको हो ।’

बरामद भएको सुन छुट्टयाएर तौल लिने काम जारी रहेकाले ठ्याक्कै परिणाम भन्न नसकिने स्रोतले जानकारी दियो ।

करिब एक क्विन्टल अनुमान गरिएको भए पनि ठ्याक्कै कति हो भन्ने बारेमा अहिले बताउन नसकिने राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय विमानस्थलबाट भित्रिने गरेको थियो दैनिक क्विन्टल अवैध सुन

पछिल्लो केही समययता दैनिक एक सय केजी अर्थात एक क्विन्टल हाराहारीमा अवैध सुन त्रिभुवन विमानस्थल हुँदै भित्रिने गरेको खुलेको छ।

हङकङसहितको ट्रान्जिट हुँदै हवाई मार्गमार्फत उक्त परिमाणको अवैध सुन दैनिकजसो विमानस्थल भन्सारबाट भित्रिरहेको सूचना राजस्व अनुसन्धान विभागसम्म पुगेको थियो। अवैध सुन भित्र्याउन लागिएको सूचना आएसँगै विभागका अधिकारीहरू एलर्ट भएका थिए।

मोटरसाइकल र स्कुटरको ब्रेक शुसँगै सुन लुकाएर ल्याएको सूचनापछि विभागले विमानस्थल क्षेत्रमा एउटा टोली बुधबार बिहानैदेखि परिचालन गरेको थियो।

विभागमा प्राप्त गोप्य सूचनाअनुसार नै हिजो (मंगलबार) करिब सय केजी आसपासको परिमाणको सुन मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाइएको अवस्थामा भन्सारबाट जाँचपास भएर सजिलोसँग भित्रियो। उक्त सुन भन्सारबाट पास भएर ट्याक्सीमा लैजाने क्रममा समातिएको हो।

रेडी ट्रेड प्राइभेट लिमिटेड बूढानीलकण्ठको नाममा ल्याएको उक्त्त सुन (ब्रेक शु)सँगै ट्रेडलिंकका सञ्चालक दिलिप भुजेल र अन्य दुई जना पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीले ठूलो परिणामको सुन जडित मोटरका पार्ट्सको कसरी जाँच पास गर्‍यो भन्ने विषय रहस्यमय बनेको छ।

विमास्थलबाट दैनिक एक सय केजी सुन पास भइरहेको सूचना केही दिनदेखि आएपछि त्यही आधारमा अपरेसन गरिएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले बताए।

‘पछिल्लो समय हरेक दिन सय केजी अवैध सुन विमानस्थल भन्सारबाट पास भइरहेको सूचना पाएपछि विभागले छापा मारेकाे हो’, एक अधिकारीले भने, ‘भन्सार जाँच पास भइसकेपछि बाहिर निकालिसकेको अवस्थामा समातिएको हो।’

प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक-पटक रेडी ट्रेडले ब्रेक शु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार र दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक शु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो ।

‘यसअघि ब्रेक शु भनेर आयात हुँदा पनि आजजस्तै तरीका अपनाएको हुन सक्छ र हरेक पटकमा १०० किलोका दरले ब्रेक शु आएको हुन सक्छ,’ स्रोतले भन्यो ‘आज जुन अवस्थामा सुन भेटियो यसले २ हजार किलोभन्दा धेरै सुन पछिल्लो २ महिनामा भित्रिएको आशंका जन्माएको छ ।’

राजस्व अनुसन्धान विभागले यस विषयमा अनुसन्धान गरिरहेको छ।