FLASH NEWS

दीपक मल्होत्रा भन्छन् – विमानस्थलबाट बरामद भएको सुनमा मेरो संलग्नता छैन


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार १४:१६ मा प्रकाशित ११९५ पाठक संख्या

काठमाडौं – व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन्।


बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।

मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो। मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्।

आफ्नो तस्बिरसमेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरिएको उनले बताए । ‘अनुमान र आशंकाका आधारमा समाचार लेख्दा कसैले मसित जानकारी लिन चाहेन,’ उनले भने ।

उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए। ‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने।

उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।  ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उनले भने।

उनले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको आशंका व्यक्त गरिएका छन् । उनले भने, ‘मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध छन् । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबार गरेको छैन । सुन आयात गर्न मसम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ।’

समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै आफैं कल्पना गरेर नाम मुछिएको उनको भनाइ छ ।

आफूले २०५५/५६ सालसम्म भन्सार तिरेर वैध तरिकाले सुनको व्यापार गरेको तर त्यसपछि त्यो छाडेर अन्य व्यापारमा लागेको मल्होत्राले बताए ।

‘म यो खालको धन्दामा कहिल्यै छैन । मलाई अहिलेसम्म प्रहरी प्रशासनबाट सोधपुछ पनि भएको छैन । तर, साढे ६ बजेबाट साथीभाइको फोन आइरहेको छ । दुई-तीन सय फोन रिसिभ गरिसकेँ,’ उनले भने ।

उनले थपे, ‘जुन गिरोहले यो सामान ल्याएको छ, उनीहरुलाई बचाउन मप्रति लक्षित गरिएको भन्ने बुझेको छु ।’

उनले भन्सार कर्मचारीहरु पनि कसैलाई नचिन्ने बताए । ‘म २५ वर्ष भयो भन्सारमा नगएको । मैले आयात गर्ने भनेको मोबाइल फोनमात्र हो । म भन्सारका कर्मारी चिन्दिनँ । एजेन्टहरूले नै सामान छुटाएर ल्याउँछन्,’ उनले भने ।

आफूले सञ्चारमाध्यमलाई पछिल्लो समय विज्ञापन दिन नसकेकाले पनि गलत समाचार लेखिएको हुन सक्ने मल्होत्राको अनुमान छ ।