FLASH NEWS

पोखरामा महिलालाई कुटेर जंगलमा फालेको आरोपमा धादिङका एक युवक पक्राउ


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार २१:४६ मा प्रकाशित १५३१ पाठक संख्या

कास्की – पोखराको गुफाडाँडा जंगलमा २४ वर्षीय युवतीलाई मरणाशन्न कुटपिट गरी फालेको आरोपमा प्रहरीले धादिङका एक युवकलाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० का दिपेन गुरूङ भन्ने सन्तबहादुर मगर रहेको प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेद जोशीले बताए।

घटना भएको २ महिनापछि आरोपी सन्तबहादुर आइतबार पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई ७ दिन म्याद दिएको छ।

गत जेठ ६ गते बिहान गोरखाको गण्डकी गाउँपालिकाकी युवतीलाई अर्धचेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो।

सन्तबहादुरले जेठ ५ गते राति १० बजेतिर फलामको हथौडा र चक्कुले प्रहार गरेको युवतीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ। उनले दिएको जाहेरीमा आफूलाई सन्तबहादुरले अन्य साथीहरू भएको ठाउँमा जान भनेको तर नमानेकाले कुटपिट गरेको र आफूसँग भएको ४ हजार नगद र मोबाइल लुटेर लगेको उल्लेख गरेकी छिन्।

कुटपिटबाट उनको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको डिएसपी जोशीले बताए। उनले स्वास्थ्यमा सुधार आएपछि मात्र प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

डिएसपी जोशीका अनुसार उनीहरू चिनजानका साथी भएको र मदिरा सेवन पश्चात युवकले आक्रमण गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। पक्राउ परेका युवक सन्तबहादुरले भने घटनामा आफ्नो‍ संलग्नता स्विकारेका छैनन्।

‘महिलाले दिएको जाहेरीमा युवकले कुटपिट गरेर जंगलमा फालेको उल्लेख छ, किटानी जाहेरीका आधारमा हामीले उनलाई पक्राउ गरेका हौं,’ डिएसपी जोशीले भने, ‘थप प्रमाण खोजिरहेका छौं।’