FLASH NEWS

आफ्नै सक्रियताका कारण तस्करीको सुन बरामद भएको अर्थमन्त्री महतको दाबी


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार ११:४१ मा प्रकाशित ११५९ पाठक संख्या

काठमाडाैं – अर्थमन्त्री डा. प्रकाशशरण महतले बुटवल पुगेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नै सक्रियताका कारण तस्करीको सुन बरामद भएको दाबी गरेका छन् ।


आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि १ सय किलो सुन बरामद भएको उनकाे दाबी छ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन बरामद भएको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताए ।

अर्थमन्त्री महतले भने,‘जसलाई जे मन लाग्यो त्यो भन्न पाउने, त्यहाँमाथि सामाजिक सञ्जालमा भाइरल भइहाल्छ । मैले बजेटमा नै प्रस्ताव गरेको हो की यो भन्सारमा कतिपय कुराहरूलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो । हामी जुन यो सुन प्रकरण छ, त्यसको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ,’ उनले अगाडि भने, ‘कतिपय अवस्थामा यस्ता घटना हुन्छन्, त्यसमा राज्य सुशासन कायम गर्न त्यस्ता दुरुपयोग अनियमितता, गैरकानूनी काम गर्न नदिन कटिबद्ध छ । त्यही अनुसार काम भइरहेको छ । छानबिनका लागि अनुसन्धान टोली बनाएर हामीले काम गरिरहेका छौँ । अब त्यस्ता कुरा हुन नदिन आधुनिक मेसिन जडान, अपडेट गर्ने, कर्मचारीहरूमा उदासीनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढंगबाट अनुसन्धान भई कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ ।’

सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्थ्य बीमा बोर्डको बीमा रकम नपाएका कारण मनपरी बोलेको आरोप लगाए।

पार्टीको केन्द्रीय समिति बैठक लाइभ हुँदा बाहिर चर्चाका लागि बोल्ने नेताहरुबारे भ्रम हटेको पनि प्रवक्ता महतकाे भनाइ छ।

आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अर्थमन्त्री महतले उल्लेख गरेका छन्। साथै, उनले मौद्रिक नीति जारी भएसँगै निजी क्षेत्रको गतिविधि बढ्ने विश्वास व्यक्त समेत व्यक्त गरे।