FLASH NEWS

नेकपा माओवादी केन्द्रका नेता र भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार २३:०० मा प्रकाशित १२१३ पाठक संख्या

काठमाडौं – भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेको माओवादी केन्द्रको प्रतिनिधिमण्डलले सोमबार भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ।


उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गएको माओवादी केन्द्रको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा गरेको भेटवार्तामा दुई पार्टीबीचको अनुभव आदानप्रदान एवं दुई देशबीच रहीआएको सम्बन्धका विविध विषयमा छलफल भएको हो।

भेटवार्ताबारे जानकारी दिँदै उपाध्यक्ष भुसालले दुई पार्टीबीचको सम्बन्ध विस्तार एवं दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको जानकारी दिइन्।

त्यसैगरी भेटवार्ताका क्रममा दुई पार्टीका नेताहरूबीच गहिरो अन्तरक्रिया भएको भाजपाका उपाध्यक्ष विजयान्त पाण्डाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

प्रतिनिधिमण्डलले सोमबार नै भाजपाको महिला मोर्चा, युवा मोर्चालगायत जनवर्गीय सङ्गठनसँग पनि अन्तरक्रिया गरेको थियो।

सो क्रममा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) सरकारले विगत नौ वर्षमा सफल रुपमा कार्यान्वयन गरेको नीति तथा योजनाका बारेमा छलफल भएका थियो।

भेटमा भाजपाका नेताहरूले पार्टीको संस्थागत संरचना र निर्णय प्रक्रियाका बारेमा अनुभव आदानप्रदान गरेका थिए। सो भेटमा भाजपाका विदेश मामिला प्रमुखलगायत नेताको सहभागिता थियो।

माओवादी केन्द्रका नेताले भाजपाको मुख्यालयको भ्रमणसमेत गरेका थिए। सो अवसरमा भाजपाको ऐतिहासिक यात्रासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो।

‘भाजपालाई चिनौँ’ अभियानअन्तर्गत माओवादी केन्द्रका उपाध्यक्ष भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली आइतबार भारत प्रस्थान गरेको थियो।

टोलीमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्या पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राई सहभागी छन्।