FLASH NEWS

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने


नेपाल आवाज १० श्रावण २०८०, बुधबार ११:३४ मा प्रकाशित २३५३ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ।


विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै एक क्यीन्टल सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिनुपर्ने एमालेको माग छ।

अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको एमालेका प्रमुख सचेतक पदम गिरी बताउँछन् । उनी भन्छन्, ‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ । यो कुरा संसदमा हामी जोडदार रुपमा उठाउँछौं ।’

त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरु रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा रहेको गिरीले जानकारी दिए ।

दिउँसो १ बजे बस्ने संसद बैठकको तयारीको लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक  गिरीले बताए।

‘हामीले १२ बजे संसदीय दलको बैठक बोलाएका छौं। त्यही बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भने, ‘सुन प्रकरणमा हामीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा मागेका छौं। यस प्रकरणमा उहाँको कमजोरी देखिएको छ।’

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरादम गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।

यही प्रकरणलाई लिएर एमालेका नेताहरूले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताउदै आएका छन्। एमालेको भ्रातृ संगठन, युवा संघ नेपालले गृहमन्त्री श्रेष्ठविरूद्ध प्रदर्शनसमेत गरेको थियो।

एमाले अध्यक्ष केपी ओलीले साेमबार राति कम्बोडियाबाट फर्किने क्रममा सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका थिए।

अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको समेत बताएका थिए।