FLASH NEWS

सुन तस्करी प्रकरण : ‘रेडी ट्रेडर्स प्रा.लि.’ को गोदाममा राजस्व अनुसन्धान विभागको छापा


नेपाल आवाज १० श्रावण २०८०, बुधबार २०:५१ मा प्रकाशित १६५७ पाठक संख्या

काठमाडौं – एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।


विभागको टोलीले बुधबार काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । त्यसक्रममा कम्तिमा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद भएको विभागका एक अधिकारीले बताए ।

पहिले भण्डारण गरिएको ठाउँमा विभागले छापा मारेको हो। स्रोतका अनुसार उक्त ठाउँबाट विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेका पोकाहरूजस्तै फेला पारेको हो। ब्रेक शु, डिस्क ब्रेकका सामानसँगै सुन नाप्ने मेसिन, हिटर पनि बरामद भएको स्रोतले बताएको छ।

‘६६ कार्टुनर दुई वटा सुटकेस बरामद भएको हो’, स्रोतले भन्यो, ‘ती बाकस र सुटकेसमा सुन राखिएको आशंका गरिएको छ।’ सुन छ कि छैन भन्ने यकिन भइनसकेको विभाग स्रोतले जनाएको छ ।

उक्त गोदाममा हङकङबाट आउने सुन भण्डारण हुने गरेको पाइएको विभाग स्रोत बताउँछन् । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘विभिन्न सामग्रीभित्र लुकाएर ल्याएको सुन त्यहाँबाट भारत लैजाने गरेको देखिएको छ ।’

पक्राउ परेकाहरुको बयान अनुसार पहिलेदेखि नै सुन तस्करले सो गोदाममा सुन ल्याएर निकाल्ने र ‘रि–प्याक’ गर्ने गरेका थिए ।

विभागले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा चिनियाँ नागरिक जीक्वाङ लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनको बालुवाटारस्थित गोदाममा ४ साउनमा विभागले छापा मारेको थियो ।

उनलाई गोदाम खोजिदिन सहयोग गरेको आरोपमा विभागले बुधबार नक्सालबाट नरेश भनिने सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्विन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।