FLASH NEWS

सुन तस्करी प्रकरण: लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा छापा


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार १८:३० मा प्रकाशित १४८९ पाठक संख्या

काठमाडौं – राजस्व अनुसन्धान विभागले लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा छापा मारेको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले छापा मारेको हो ।

सशस्त्र प्रहरी बलको सहयोगमा विभागले घरलाई खानतलासी अहिले गरेर शिल गरेको छ । खानतलासीको क्रममा विभागले केही बाकसहरु (१ सय कार्टुन दारी काट्ने मेशिन) फेला पारी बरामद गरेको छ ।

विभागका एक अधिकारीका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ । अन्य चिनियाँबारे विभागको टोलीले अनुसन्धान गरिरहेको छ । विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेको थियो । त्यसमा संलग्न रहेको आरोपमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

सुन प्रकरणको मुख्य ब्यक्ति को हो भन्ने अझै पत्ता लागेको छैन । प्रहरी र विभागको टोलीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।