FLASH NEWS

साइकल यात्रीलाई मुक्का हान्ने कार चालकलाई १० वर्ष कैद र १ लाख जरिवाना माग


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार २०:३३ मा प्रकाशित २१८२३ पाठक संख्या

मोरङ – साइकल यात्रीलाई मुक्का हान्नेलाई १० वर्ष कैद र १ लाख जरिवानाको माग दाबीसहित मुद्दा दर्ताको तयारी गरिएको छ ।


जिल्ला सरकारी वकिल कार्यालय मोरङले कारबाट उत्रिएर साइकल यात्रीलाई मुक्का प्रहार गर्ने विराटनगर ४ का १९ वर्षीय आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवानाको माग दाबीसहित मुद्दा दर्ता गर्ने तयारी गरेको हो । उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई सडकमा कुटपिट गरेका थिए ।

पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान गरेको थियो । मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रवार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

आइतवार जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। ‘हामीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएका छौं,’ डीएसपी दाहालले भने ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१) अन्तर्गत ज्यान मार्ने कसुर गरेको देखिएकोले दफा १८३ (२) बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको माग दाबी गर्दै रायसहितको प्रतिवेदन बुझाइएको उनले बताए ।

गत असार २० गते राति साढे ८ बजे  विराटनगर ४ स्थित कोशी राजमार्ग दुध फारम चोकमा बा १५ च ३४४५ नम्बरको कारबाट ओर्लेर  आयुषले साइकल यात्री साहलाई कुटपिट गरेका थिए । आयुषले मुक्का हान्दै कुटपिट गरेको उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो ।

मुक्का हानेपछि बेहोस भएर ढलेका शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पुर्‍याइएको थियो ।

रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रु साहलाई मुक्का हानेका थिए । उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । साह सडकमै ढलेपछि भेटवालले नै घिसारेर सडकको किनारमा ल्याएर छाडेका थिए । भेटवाललाई प्रहरीले घटनाको भोलिपल्ट नियन्त्रणमा लिएको थियो ।