FLASH NEWS

भ्रष्टाचारी र कमिसनखोरलाई कानूनी दायरामा ल्याएर मात्रै सहिदको सपना पूरा हुन्छ: गृहमन्त्री


नेपाल आवाज १३ श्रावण २०८०, शनिबार ११:३० मा प्रकाशित १५७३ पाठक संख्या

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी र कमिसनखोरलाई कानूनी दायरामा ल्याएर मात्रै सहिदको सपना पूरा हुनसक्ने बताएका छन् ।


राष्ट्रिय सहिद तथा शान्ति पार्क जगडोलमा सहिदहरूप्रति माल्यार्पण तथा वृक्षारोपण कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले पद प्रयोग गरेर निहित स्वार्थ अनुकूल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गरेर मात्रै सहिदको सपना पूरा हुने बताए।

गृहमन्त्री श्रेष्ठले भने,’यो सहिद पार्क देशमा कसरी राजनीतिक परिवर्तन भयो भनेर शिक्षा लिने ठाउँ हो । छुटेका सबै सहिद र बेपत्ता बनाइएका सबै योद्धालाई समेटेर स्तम्भ निर्माण गर्न सबै निकायको सहयोग जरुरी छ। सरकारले यसमा हरतरहले सहयोग गर्नेछ। जो-जो दोषी वा अपराधी छ्न्, तिनलाई कारवाही गरिन्छ ।’

उनले सुशासन र आर्थिक-सामाजिक समृद्धि नै सहिदहरूप्रतिको सच्चा सम्मान तथा श्रद्धा हुने बताए । सरकारले शुरू गरेको भ्रष्टाचारविरोधी अभियानमा सबैको सहयोग जरुरी भएको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

महान सहिदहरू र बेपत्ता योद्धाले ऐतिहासिक राजनीति परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफूलाई उत्सर्ग गरेको स्मरण गर्दै गृहमन्त्री श्रेष्ठले त्यस दिशामा अगाडि बढ्न भ्रष्टाचार र कमिसनतन्त्रलाई निमिट्यान्न पार्नुपर्ने बताए ।