FLASH NEWS

रवि लामिछाने भन्छन् – एक क्विन्टल सुन आउनु र सामान्य मानिस पक्राउ पर्नु सेटिङ हो


नेपाल आवाज १३ श्रावण २०८०, शनिबार १२:५७ मा प्रकाशित १३३९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक क्विन्टल सुन आउनु र सामान्य मानिस पक्राउ पर्नु सेटिङ भएको बताएका छन् ।


रास्वपा भक्तपुरको भेलालाई शनिवार सम्बोधन गर्दै सभापति लामिछानेले मालिक जोगाउन सामान्य मानिसलाई पक्राउ गरीएको बताएका हुन् ।

भरिया समाउनकै लागि सुन बोकेको ट्याक्सी समातिएको र यो सेटिङ भएको लामिछानेले जिकिर गरे ।

सभापति लामिछानेले भने,’सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ,भारी बोकेको ट्याक्सी मालिकसम्म लान्थ्यो होला,गन्तव्यमा पुग्थ्यो होला । सूचना दिने मान्छेले पनि बाटोमा ट्याक्सी आउँछ मात्र भनेन होला, बिच बाटोसम्मको खबर पाउनेले भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ?’

सभापति लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई किन सिनामंगलको बाटोमै समाइयो ? भनी प्रश्न उठाएका छन् । लामिछानेले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले आफूहरुले संसदमा प्रश्न उठाएको बताए ।

लमिछानेले सरकारको काम कारवाही ठूला मालिक देखेपछि त्यसलाई छाडेर अर्को फाइल खोल्नेतिर लागेकाले आफूहरुले खबरदारी गरेको बताए । लामिछानेले केही कर्मचारी थुनेर फाइल खोलेझैँ मात्रै गरेर सरकार सुनको मालिक जोगाउन लागेको बताए ।