FLASH NEWS

प्रेमिकाको नग्न फोटो तथा भिडियाे पोर्नसाइटमा राख्ने युवक मलेसियाबाट पक्राउ


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार १७:४८ मा प्रकाशित २१४९ पाठक संख्या

काठमाडौं – आफ्नी प्रेमिकाको नग्न फोटो तथा भिडिओहरु पोर्न साइटमा राख्ने एक जनालाई नेपाल प्रहरीले इन्टरपोलको सहायतामा मलेसियाबाट पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा साविक अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश विक छन् । उनलाई मलेसियाबाट हिजो सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

उनले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडिओ तथा फोटोहरू सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने गरेका थिए ।

यस्तै, पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि पनि निजको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गर्दै आएका थिए ।

पीडक विक हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए । उनलाई पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।

विकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।