FLASH NEWS

कमल थापा भन्छन् : राष्ट्रिय राजनीतिमा नयाँ तरङ्गको सिर्जना हुन्छ


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार २१:२५ मा प्रकाशित ११११ पाठक संख्या

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब नेपाली राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग सिर्जना हुने दाबी गरेका छन् ।


काठमाडौंमा राजावादीसम्बन्धी संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपालबीचको एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै उनले एकताले नेपालमा राष्ट्रवादी शक्ति निर्माणका लागि कोशेढुङ्गा सावित हुने जिकीर गरे ।

‘यो एकता केवल प्रारम्भ मात्रै हो, देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने,’ उनले भने, ‘यो प्रारम्भसँगै नेपालको राष्ट्रिय राजनीतिमा तरङ्गको सिर्जना हुनेछ भन्ने मैले ठानेको छु ।’

अब एकीकृत पार्टीको मान्यता राष्ट्रिय मान्यताको रुपमा स्थापित हुने उनले दाबी गरे । यी दुई पार्टीबीचको एकीकरणपछि कमल थापाकै नेतृत्वमा रहने पार्टीको नाम पनि राप्रपा नेपाल रहने छ ।

फरक प्रसँगमा अध्यक्ष थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरूमा संलग्न रहेको आरोप लगाए । उनले देशका भ्रष्टाचार काण्डहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता रहेको दाबी गरे । भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको बताउँदै प्रधानमन्त्री र गृहमन्त्री नै भ्रष्टाचारमा संलग्न हुँदा समेत कारबाही नगरिएको उनको भनाई छ ।

अध्यक्ष थापाले नेताहरूले आफ्नो मुखुण्डो उघारिएला भन्ने डरले सुन बोकेर हिँडेको ट्याक्सीलाई गन्तव्यमा नपुग्दै समातिएको पनि बताए । नेताहरूले भ्रष्टाचारको नयाँ-नयाँ फाइलहरू खोल्ने भनेपनि विश्वास गर्न नसकिने उनको भनाई छ ।