FLASH NEWS

राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे हामीलाई अफसोस हुन्न: प्रधानमन्त्री प्रचण्ड


नेपाल आवाज १७ श्रावण २०८०, बुधबार १७:३५ मा प्रकाशित १३५७ पाठक संख्या

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे अफसोस नहुने बताएका छन्।


बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार र सुशासनको अभियान सरकारले चलाइरहेकाले यो अभियान नरोकिने उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले राम्रो काम गर्दै गएको हुनाले घेराबन्दी जारी छ ।राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे हामीलाई अफसोस हुन्न। छोड्न परे तयार छौं तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न, रोकिन्न ।’

उनले धेरैथोर प्रदूषित सबै भएको बताए। ‘हामीले सफाइ अभियान चलाउन जरूरी छ, चलाएका पनि छौं,’ उनले भने।

उनले समाजवादी मोर्चा बनेको र त्यसले पनि काम गर्नका लागि झन् सहज भएको बताए । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको तर राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको बताए ।

साथै प्रचण्डले संगठन सुदृढीकरणका लागि तीन महिने अभियान सञ्चालन गरिने बताएका छन्। यो अभियान भदौदेखि सुरू गर्ने प्रस्ताव उनको छ।