FLASH NEWS

सर्वोच्चको प्रधानन्यायाधीशमा विश्वभर प्रसाद श्रेष्ठको नाम सिफारिस


नेपाल आवाज १८ श्रावण २०८०, बिहीबार २०:१६ मा प्रकाशित १५१३ पाठक संख्या

काठमाडौं – संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।


बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

वरिष्ठताको आधारमा न्यायाधीश श्रेष्ठ प्रधानन्यायाधीशका लागि पहिलो रोलक्रममा थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भने, ‘आजको बैठकले पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीशको पदको नियुक्तिका लागि वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । र, महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरुको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन १९ गते (भोलि) अनिवार्य अवकाश हुँदैछन् । त्यसको पूर्वसन्ध्यामा श्रेष्ठलाई नयाँ प्रधानन्यायाधीश सिफारिस गरिएको हो ।

परिषद्को सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । साे समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ प्रधानन्यायाधीश बन्नेछन् ।