FLASH NEWS

सुन तस्करी प्रकरणमा गृह प्रशासन पूरै असफल भएको प्रदीप ज्ञवालीको आरोप


नेपाल आवाज २० श्रावण २०८०, शनिबार १२:३३ मा प्रकाशित १५६१ पाठक संख्या

काठमाडौं –  प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नै पार्टीको बटमलाइन भएको बताएका छन् ।


‘१०० क्लिन्टलभन्दा बढी सुन तस्करी उच्चस्तरीय राजनीतिक नेतृत्वको संलग्नताबिना सम्भव छैन भनेर सरकारमै रहेका दलका सांसदहरु बोलिरहनुभएको छ । प्रधानमन्त्रीले यसलाई किन अनदेखा गरिरहनुभएको छ, हामीले बुझेका छैनौं । हाम्रो बटमलाइन उच्चस्तरीय छानबिन समिति नै हो । उच्चस्तरीय छानबिन नभए कहीं न कहीं गडबडी छ भन्ने देखिन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेता ज्ञवालीले सुन तस्करी प्रकरणमा न्यायिक वा संसदीय छानबिनको विकल्प खुला रहेको पनि बताए । उनले थपे, ‘सरकार मातहतको प्रशासनिक नेतृत्वले गरेका अनुसन्धानले यथार्थ कुरा बाहिर ल्याउन सक्दैन । त्यसैले उच्चस्तरीय छानबिन समिति बनाउनु जरुरी छ । उच्चस्तरीय छानबिन दुई किसिमले हुन्छ, न्यायिक र संसदीय । त्यसमा हामी खुला छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुन तस्करीमा आफ्नो परिवार, पार्टी, डोनर, घरबेटी जो जोडिए पनि कारबाही गर्छु भनेर नलागेको ज्ञवालीले बताए । उनले भने, ‘सुन तस्करीमा सत्तारुढ पार्टीकै वरिष्ठ नेता बाउछोराको कनेक्सन देखियो । तर राजनीतिक दबाबमा अहिलेसम्म सोधपुछ भएन । उनीहरुलाई सत्ताको आडमा राजनीतिक उन्मुक्ति दिएको प्रस्ट देखिन्छ । प्रचण्डजी सुन तस्करीमा आफ्नो परिवार, पार्टी, डोनर, घरबेटी जो जोडिए पनि कारबाही गर्छु भनेर कस्सिनुभएको छैन । बरु प्रमुख प्रतिपक्षसँग अनावश्यक रुपमा दुरी बढाउने काम गरिरहनुभएको छ ।’

सुन तस्करीमा आफ्नो परिवार, पार्टी र डोनरको नाम मुछिँदैमा डराउनु नपर्ने पनि उनले औंल्याए । उनले भने, ‘कहिलेकाहीं पुरानो फोटो देखाएर पनि नाम मुछिएला । प्रचण्डजी कसैको नाम आउँदैमा तर्सिनुपर्ने कुरा छैन । तर कुरा उठिसकेपछि सोधपुछ त हुनुपर् यो नि । चोरको खुट्टा काट् भन्दा खुट्टा उचालेजस्तो गर्नु जरुरी छैन । हामीले उच्चस्तरीय छानबिन समिति छिटो गठन होस् र संसद सुचारु भएको हेर्न चाहेका छौं ।’

सुन तस्करी प्रकरणमा गृह प्रशासन पूरै असफल भएको आरोप पनि ज्ञवालीले लगाए । उनले भने, ‘२२ चोटि सुन उम्किएको छ । २३ औं पटकमा अर्कै निकायले पक्रेको छ । सुन तस्करीका निम्ति अन्तर्राष्ट्रिय विमानस्थलको सीसीटीभीको कनेक्सन टुटाइएकोछ । घटनाको आठ-नौ दिनपछि मात्र त्यसमा संलग्न भनिएका व्यक्तिको गोदाममा छापा मारिएको छ र बेल्जियन नागरिक भनिएका अर्का व्यक्तिको नक्कली नेपाली नागरिकताको फाइल नै गायब पारिएको छ । तैपनि गृहमन्त्री ठूलै पौरख गरेजस्तो कुर्लिरहनुभएको छ । गृह प्रशासन टोटल्ली फेल भैसक्यो ।’