FLASH NEWS

नेकपा माओवादी केन्द्र पार्टी भावनात्मक रुपमा एक ढिक्का भएको प्रचण्डको दाबी


नेपाल आवाज २१ श्रावण २०८०, आईतवार १८:३८ मा प्रकाशित १४७१ पाठक संख्या

काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भावनात्मक रुपमा एक ढिक्का भएको दाबी गरेका छन् ।


पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले आफूहरू एक ढिक्का भएको र पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका हुन् ।

‘विचार र राजनीतिमा मात्र एकमत भएका छैनौँ, मेरो विश्वास छ, र म घोषणा गर्न सक्छु, आम मिडियामार्फत जनतासामु भन्न चाहन्छु, सबैका निम्ति यो खुसीको कुरा हो, हामी भावनात्मक रुपले पनि एकजुट भएका छौँ,’ उनले भने, ‘अब माओवादी फेरि जागेको छ, माओवादीले देशको नेतृत्व लिने गरी अगाडि बढ्ने छ  ।’

आफूहरू अब जनताको भावनालाई सम्बोधन गर्ने बाटोमा कुनै सम्झौता नगर्ने उनको उद्घोष थियो । ‘नेपाली जनताको चाहना र भावनालाई सम्बोधन गर्न जस्तो सुकै त्याग र बलिदान गर्न तयार छौँ, बीचमा कता कता केही अन्यौलमा परेको जस्तो भएको थियो,’ उनले थपे, ‘यो बैठकले नयाँ उज्यालो पार्टीलाई र देशलाई दिएको छ ।’

अध्यक्ष प्रचण्डले पार्टी विस्तार तथा शुद्धीकरणका लागि सबै प्रदेशका सात वडामा जाने बताएका छन् । यस्तै,पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सातै प्रदेशका सात वडामा जाने भएका छन् । काठमाडौंमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकलाई जवाफ दिँदै अध्यक्ष प्रचण्डले आफूहरू सरकारमा भए पनि पार्टी कामका लागि वडा तहमा जाने बताएका हुन् ।

‘म प्रधानमन्त्री भए पनि सात प्रदेशको सात वटा वडाको जिम्मा म लिन्छु भनेको छु, ती वडामा जनताको स्थिति, पार्टीको स्थिति प्रत्यक्ष हेर्ने गरी म नै जान्छु, सातै प्रदेशको सात वटा वडामा गृहमन्त्री भएता पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जी जानुहुन्छ,’ उनले भने ।

आफूहरू नै पार्टी निर्माणमा जाने भएपछि केन्द्रीय सदस्यले भने जिल्ला जान्न भन्न नमिल्ने उनको भनाइ थियो ।

अध्यक्ष ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिएका छन्।

उनले देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन्। माओवादी केन्द्रले विशेष अभियानका रुपमा तीनमहिने अभियान सञ्चालन गर्ने भएको छ ।

अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान योजनाबद्ध तरिकाले सञ्चालन गरिएको उल्लेख गरे। उनले अभियानलाई साथ दिन निर्देशनसमेत दिएका छन्। सुशासन एवम् समृद्धिको यात्रामा देश अगाडि बढ्ने स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने बताए। उनले भने, “माओवादीले गरेन भने त्यसको नेतृत्व अरू कसैले गर्न सक्दैन भनेर योजनाबद्ध तरिकाले अघि बढेका हौँ । हामी यसलाई त्यतिकै छाड्दैनौँ, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला ।”

उनले पार्टीको मुख्य नेतृृत्व वरिपरि गोलबन्द भएर विधि पद्धतिमा रहेर जनतासँग एकाकार भएर परिवर्तनको स्वामित्व लिने गरी अगाडि बढ्नुपर्ने बताए।

अध्यक्ष प्रचण्डले विचार र राजनीतिमा पार्टी एकमत भएको र भावनात्मक रुपमा एकै ठाउँमा आएको उल्लेख गरे। उनले जनतासँग एकाकार भएको खण्डमा माओवादीले पुनः देशको पूर्ण नेतृत्व गर्ने बताए । उनले विगतमा पार्टीमा केही अन्यौलमा परेजस्तो भए पनि केन्द्रीय समितिको बैठकपछि ती सबै हटेको स्पष्ट पारे।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक असाधारण रुपमा सम्पन्न भएको र विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिए।

समाजवादी क्रान्तिको अभियान सुरु भएको उल्लेख गर्दै उनले ‘जनतासँग माओवादी विशेष रुपान्तरणका लागि अभियान’ सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार अभियानको आगामी भदौ १६ गते उद्घाटन हुन्छ । अभियानमा जनताको घरघरमा जाने र जनताको गुनासो सुन्ने र पार्टीमा केन्द्रित गरिने प्रवक्ता महराले जानकारी दिए।  यही साउन १७ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावमाथि नेताहरुले आ–आफ्नो धारणा राखेका थिए।

माओवादीले केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाएको छ । केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता थियो । बैठकमा पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहको तथ्याङ्क प्रस्तुत भएको थियो ।

माओवादीको केन्द्रीय समिति बैठक एक वर्षपछि बसेको हो । यसअघि २०७९ साल असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको थिएन । पार्टी अध्यक्ष दाहालको नेृत्वमा वर्तमान सरकार गठन भएपछि गत माघ २६ गते ‘श्रव्य दृश्यका माध्यमबाट केन्द्रीय समितिको बैठक बसेको थियो । माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो । माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोधपछि स्थगित गरेको थियो ।