FLASH NEWS

नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपाले परिचालन गरेको आरएटी चाहिँदैन : चितवन प्रशासन


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार १३:५६ मा प्रकाशित १७७७ पाठक संख्या

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ।


मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो। सो क्रममा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले खटाएको आरएटी नाम दिइएको एउटा समूह परिचालन भएको थियो।

जाम खुलाउन सुन्तला रङ्गको ज्याकेटमा आरएटी लेखेर वाकीटकीसंचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। केही दिनअघि रास्वपाका सभापति रहेका चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि र्‍यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए।

उक्त पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अङ्गबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ,’ प्रशासन कार्यालयले भनेको छ, ‘विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम छन्।’

प्रशासन कार्यालयले रास्वपाका कार्यकर्ताले प्रयोग गरेको सञ्चारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको छ।