FLASH NEWS

आरएटीलाई रास्वपाले भन्यो – स्थानीय निकाय र सरोकारवालासँग समन्वय गर्नू


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार १८:२७ मा प्रकाशित १५७३ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)ले आफ्नो पार्टीको र्‍यापिड एक्सन टिम(आरएटी)लाई सरकारका स्थानीय निकायसँग अनुमति लिएर समन्वयमा काम गर्न निर्देशन दिएको छ।


नारायणगढ-मुग्लिन सडक खण्डमा परिचालन गरेको स्वयंसेवक टीम हटाउन चितवनका सीडीओले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएलगत्तै रास्वपाले निर्देशन जारी गरेको हो ।

रास्वपाका महामन्त्री मुकुल ढकालले नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशन दिएका छन् ।

यसअघि आजै जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन-नारायणगढ सडकको जाम हटाउन सरकारी संयन्त्रले काम गरिरहेकाले रास्वपाको आरएटी टीम नचाहिने बताएको थियो।

रास्वपाले हिजोदेखि ५० जनाको टोली उक्त सडक खण्ड व्यवस्थापन गर्न भन्दै खटाएको थियो । रास्वपा प्रवक्ता ढकालले जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका विशुद्ध समाज हितका हेतुले उक्त टीम बनाएको प्रष्टिकरण दिएका छन् ।

यो पनि पढ्नुहोस् : नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपाले परिचालन गरेको आरएटी चाहिँदैन : चितवन प्रशासन