FLASH NEWS

नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्धक बनाउन खोजेको पुष्पा भुसालको आरोप


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार १९:३७ मा प्रकाशित १६७५ पाठक संख्या

बुटवल – नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाएकी छन् ।


रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा भुसालले सुन प्रकरणको छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै अवरोध गरेर एमालेले सदनलाई बन्धक बनाउन खोजेको आरोप लगाएकी हुन् ।

त्यस्तै, उनले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गर्दै अहिले बर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोको प्रभाव, चरम महङ्गी लगायत जनजीविकाको अवस्था दयनीय बन्दै गएकाबेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष दल संसद अवरुद्धतिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होईन भन्ने आशंकाहरु उठिरहेको बताईन् । उनले भनिन्–“यस अर्थमा प्रतिपक्ष दलले आफ्नै समय बर्बाद गर्दै गएको छ । सदन प्रतिपक्षीको भएपनि दलहरुले सदुपयोग गर्न सकिरहेका छैनन् ।”

भुसालले भ्रष्टाचार र अख्तियार निवारण निर्णय काँग्रेसले गरेको भन्दै नेपाली कांग्रेस सधैं सुशासनको पक्षमा रहेको पटक पटक दोहो¥याईन् । भूसालले बिगतमा ललिता निवास प्रकरण मात्रै होईन, ओम्नी, सेक्युरिटी प्रिटिंङ प्रेस मेसिन खरिद प्रक्रियाको ७० करोड बारेमा कांग्रेसले संसदमा आवाज उठाएको तर संसद अबरोध नगरेको स्मरण गराईन् ।

उनले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावन नरहेको भन्दै यो ५ बर्षसम्म नै गठबन्धन सरकार टिक्ने जिकिर गरिन् ।