FLASH NEWS

संखुवासभा कारागार कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्, निष्पक्ष छानबिन गर्न माग


नेपाल आवाज २५ श्रावण २०८०, बिहीबार १०:४६ मा प्रकाशित २२१५ पाठक संख्या

किमाथाङ्का – सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् ।


कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताए ।

कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ । कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवैजनालाई कुटपिट गरेको बताउँदै आएका छन् ।

प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ ।

मृतकका आफन्तले पनि कारागारभित्र भएको हत्याको घटनाको सत्यतथ्य बाहिर ल्याएर निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । कारागारभित्र भएको घटना शंकास्पद भएको मृतकका आफन्तले दाबी गर्दै आएका छन् ।

हत्यामा संलग्न कुनै हालतमा उम्किन नहुने आफन्तको भनाइ छ । मृतककी दिदी भीमा रम्तेलले सुरक्षा घेराभित्र रहेको व्यक्तिको कुटपिटबाट हत्या हुँदा प्रहरी प्रशासन मौन बसेको आरोप लगाए । उनले सत्यतथ्य बाहिर नआउन्जेल शव नउठाउने बताइन् । प्रहरीले सीसीटिभी क्यामेरा फुटेज अझै बाहिर नल्याएकोमा उनले शंका व्यक्त गरेकी छन् ।

हत्याको घटनापछि प्रहरीले ९ जना कैदीबन्दीलाई अनुसन्धान लागि नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । यो कारागार २५ जना क्षमताको हो तर विभिन्न मुद्दाका १ सय ३६ जना कैदीकन्दी राखिएको छ ।

कैदीको मृत्यु पछि कारागारको अन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइकेसहितका नौ बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताए । जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष तथा चोरी मुद्दामा बलामीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो । दुवैजना एक वर्षदेखि यहाँको कारागारमा थिए ।

छानबिन समिति गठन

जिल्ला कारागारमा बुधबार भएको घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तारिणी घिमिरे सदस्य रहेको समिति गठन गरिएको छ ।