FLASH NEWS

शरणार्थी प्रकरण : सन्दीपसहित ६ जना थुनामुक्त, धरौटी बुझाउन नसक्दा छुटेनन् रिजाल


नेपाल आवाज २१ मंसिर २०८०, बिहीबार १४:०६ मा प्रकाशित १२१९ पाठक संख्या

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका ६ जना रिहा भएका छन्। उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् ।


६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए। धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् ।

सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन्। शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन्।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै छन् ।

रिजालले धरौटी बुझाएका छैनन्। उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । कारागारमा सँगै बस्नेहरूसँग धरौटी रकमबारे रिजालले भनेका छन्– ‘त्यति धेरै पैसा तिर्न सक्ने अवस्था छैन ।’

धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेको हो ।