FLASH NEWS

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुईजना पक्राउ


नेपाल आवाज २२ मंसिर २०८०, शुक्रबार ०९:१५ मा प्रकाशित १६५१ पाठक संख्या

काठमाडौं- त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन्। बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ परेका हुन्।


त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाडौं आएका गोरखाका चन्द्र घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको हो ।

घले बुधबारै फ्लाइ दुबईको फ्लाइटबाट नेपाल आउन लागेको जानकारी आएको थियो । त्यसैले बुधबारबाटै एयरपोर्टमा निगरानी भइरहेको थियो। बुधबार घले नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरुले निगरानी गरेका थिए। विमान अवतरण भइसकेपछि अन्य यात्रु सरासर झरेर गइसकेपछि करिब अन्तिमतिर घले झरेका थिए। उनलाई झर्नेवित्तिकै भन्सारको टोलीले पक्राउ गरेको थियो ।

सुन बोकेर ल्याउने चन्द्र घलेसहित सुन किन्ने र ल्याउने कार्यमा संलग्न रहेका गोरखाका मीन बहादुर घलेलाई समेत नियन्त्रणमा लिइएको छ।