FLASH NEWS

एमालेका नेता पूर्वराजा अभिनन्दन समितिका संयोजक


नेपाल आवाज १ पुष २०८०, आईतवार २०:५४ मा प्रकाशित ११८३ पाठक संख्या

बुटवल – नेकपा एमालेका नेता डा. रामप्रसाद बस्याल पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेका छन् ।


पूर्वराजा ज्ञानेन्द्र यही १५ पुसभित्र भैरहवा आउने तयारी छ । भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटी पूर्वसल्लाहकार हुन् । उनी गत स्थानीय निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका थिए ।

डा. बस्यालले आफूले एमाले छाडिनसकेको तर धर्म निरपेक्षता र प्रदेश संरचनाका विषयमा पार्टीसंग असहमत रहेको बताए ।

‘हिन्दु राष्ट्र र प्रदेशसहितको संघीयताप्रति जनता सहमत छैनन्, विरोधमा छन्’, बस्यालले भने, ‘यी दुई एजेण्डामा म पनि पार्टीसंग सहमत थिइन, देश बचाउन पूर्वराजाले गर्ने राम्रा काममा मेरो समर्थन रहन्छ ।’

नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले बस्याल अहिले पार्टीको कार्यकारी जिम्मेवारीमा नरहेको बताए । पूर्वराजाको अभिनन्दन समिति संयोजक बनेको विषयमा पार्टीभित्र छलफल गरी आवश्यक निर्णय लिइने सचिव गैरेले जानकारी दिए ।