FLASH NEWS

पूर्वराजाप्रति एमालेको द्वैध चरित्र: ओली ठोक्ने, कार्यकर्ता बोक्ने !


नेपाल आवाज १ पुष २०८०, आईतवार २०:५९ मा प्रकाशित ५७८५ पाठक संख्या

काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहमाथि बारम्बार खनिँदै आएका छन् ।


आज सम्पन्न ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ पनि उनले मरेर गएको राजतन्त्र एमालेले फर्कन नदिने बताए ।

गत मंसिर २९ गते मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका-२५ हेम्जामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए- ‘मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो सङ्कल्प यात्रा हो । यो अभियान अहिलेको लोकतन्त्रलाई बलियो बनाउन हो, यही सन्देश दिन चाहेका छौँ ।’

गत वैशाखमा पनि ओलीले स्वार्थी, अज्ञानी र मूर्खले मात्र राजसंस्थालाई मान्ने टिप्पणी गरेका थिए । नेपाल किसान महासङ्घको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए- ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ कि मुर्खले मान्छ, कि अज्ञानीले, केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन् ।’

गत वैशाखमै ओली पूर्वराजपरिवारलाई ‘बढ्ता फुरफुर’ नगर्न चेतावनी पनि दिएका थिए ।  उनले भनेका थिए- ‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर ।  छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर , हामीले धेरै हिसाबकिताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाबकिताब गर्नु नपरोस् ।’

त्यस्तै गत फागुन ७ गते पनि एमाले अध्यक्ष ओली पूर्वराजामाथि खनिएका थिए । विराटनगरमा पत्रकारसित कुरा गर्दै उनले भनेका थिए-  ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २/४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ ।’

यसरी एमाले अध्यक्ष ओली बारम्बार पूर्वराजामाथि खनिएपनि एमाले कार्यकर्ता भने  पूर्वराजा अभिनन्दन समितिका संयोजक नै बनेका छन् । एमाले नेता डा. रामप्रसाद बस्याल पूर्वराजा शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र यही १५ पुसभित्र भैरहवा जाने  तयारी छ । भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटी पूर्वसल्लाहकार हुन् । उनी गत स्थानीय निर्वाचनमा एमालेकातर्फबाट सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका थिए ।

डा. बस्यालले आफूले एमाले छाडिनसकेको तर धर्म निरपेक्षता र प्रदेश संरचनाका विषयमा पार्टीसँग असहमत रहेको बताएका छन् । यी दुई एजेण्डामा आफू पार्टीसंग सहमत नभएको र देश बचाउन पूर्वराजाले गर्ने राम्रा काममा आफ्नो समर्थन रहेको उनको बताएका छन् । – दृष्टिन्यूज बाट